संसदमा कडा रुपले प्रस्तुत हुने एमालेको तयारी, गुहमन्त्री श्रेष्ठसंग जवाफ माग्ने
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा केही बेरपछी बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
गिरीले भने– ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टलका क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ ।
यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’उनका अनुसार नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा समेत माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताउँछन् उनी भन्छन्, ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’
एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रुपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिँउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
Share on Twitter